एमसीसी टेबुल गर्न सभामुखलाई दबाब !

नेपालखोज २०७८ माघ २६ गते १३:०१

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्न सेकेको छैन् । आज बस्ने भनिएको बैठक मंगलबार नै सूचना टाँसेर स्थगित भएको हो ।

बुधबार बस्ने बैठकको कार्यसूची प्रकाशन गर्दा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई समावेश गरेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गरेर छाड्ने रणनीतिमा छन् । सभामुख सापकोटा भने एमसीसी सम्झौता संसद् बैठकमा छलफलका लागि लैजान पनि तयार छैनन् ।

एमसीसीका कारण प्रधानमन्त्री देउवा र सभामुख सापकोटाको सम्बन्ध पनि चिसिन थालेको छ । प्रधानमन्त्रीले यसअघि नै कानुन मन्त्री दिलेन्द्र बडुलाई सभामुख समक्ष पठाइसकेका थिए । देउवाको सन्देश लिएर पुगेका बडुले एमसीसी टेबुल गर्न अनुरोध गरेका थिए । तर, त्यो प्रस्ताव सापकोटाले अस्वीकार गरे । उनले देश विभाजित भएको र एमालेले संसद् बैठक चल्न नदिएकाले टेबुल नगर्ने बताएका थिए ।

प्रतिनिधिसभाको माघ १६ गतेको बैठक पनि सूचनामार्फत सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि बैठक सारिएको हो । तर, एमसीसीका कारण बैठक बस्न सकिरहेको छैन् । सभामुख सापकोटाले वातावरण बनाएर एमसीसी टेबुल गर्नुपर्ने सुझाव सरकारलाई दिए । सरकारले पनि नेकपा एमालेलाई मनाएर एमसीसी पास गर्ने भेटघाट बढाएको छ ।

एमालेले सभामुखको राजीनामा वा नेकपा एकीकृत समाजवादी पार्टीका सांसदलाई कारबाहीको माग गर्दै आएको छ । एमालेको माग पूरा हुने संकेत भने देखिँदैन । देउवाले भने एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर एमसीसी पास गर्न चाहान्छन् । तर, अध्यक्ष ओलीले सत्ता गठबन्धनको समर्थन लिएर आउन प्रधानमन्त्रीलाई आग्रह गरेको छन् । एमालेले पर्ख र हेरको रणनीतिमा अघि बढेको प्रष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया