गलत मान्छेले भूमि नपाउन् भन्नेमा सचेत बन्नुपर्छ : मन्त्री श्रेष्ठ

नेपालखोज २०७८ माघ २७ गते १७:२०

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सधाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन् । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकालाई उनले लालपुर्जा वितरण गरिन् ।

मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपुर्जा वितरणको काम शुरु गरेको उनले बताइन् । मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको स्पष्ट पारिन् । उनले बास्तविक भूमिहिन कोहीपनि भूमि प्राप्त गर्नबाट बन्चीत नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै चनाखो बन्नु पर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले लालपुर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्नेमा समेत जोड दिइन् । उनले भूमि विहिनहरुलाई लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत शुरु भइसकेको बताइन् ।

राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि उनले जानकारी दिइन् । यसैक्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।

प्रतिक्रिया