पदाधिकारी बैठक : राप्रपाले देशभरका वडामा उम्मेद्‌वार उठाउने

नेपालखोज २०७८ माघ २७ गते १९:१९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तह निर्वाचनमा सबै वडामा उम्मेद्‌वार उठाउने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहीवार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेद्‌वार खडा गर्ने निर्णय गरेको हो ।

पार्टीको संगठन सुदृढ र क्रियाशील बनाउन सबै स्थानीय तहमा उम्मेद्‌वार खडा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कमल थापाले पार्टी छाडेपछि बसेको बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित पदाधिकारीहरु र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भइ पार्टीको संगठन सुदृढ र क्रियाशील बनाएर चुनाव केन्द्रीय हुने निर्णय गरेको हो । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेको प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ । यस्तै संवाद शुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आह्वान पनि गरेको छ । साथै हालसम्म पार्टीमा समावेश भइसकेका र हुने व्यक्ति, समुहलाई सहमति अनुसारको जिम्मेवारी दिइने निर्णय समेत भएको छ ।

राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ । यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ ।’

पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हितविपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्ति प्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बोलाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया