तीनै तहको चुनावमा एमालेको बहुमत : केपी ओली

नेपालखोज २०७८ माघ २८ गते १४:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टीसँग पनि चुनावी तालमेल नहुने स्पष्ट पारे ।

उनले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए । उनले भने, ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’

चुनाव नगराउने षड्यन्त्र हुन सक्ने भन्दै उनले सबै सतर्क हुनुपर्ने पनि बताए । उनले भने, ‘सवैको चर्को दबाबले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो, एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा हुँदा पनि गठबन्धनबाट अदालत जाने, चुनाव हुन नदिने जस्ता कुरा आइरहेको छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ, हामी सबै सतर्क हुनुपर्नेछ ।’

उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने स्पष्ट पारे । उनले नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै भने, ‘अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ ।’

सरकारले स्थानीय तह चुनावको मिति घोषणा गरिसकेको अवस्थामा पनि गठबन्धमै रहेका केही दल नै चुनाव हुन नदिने प्रयासमा लागिरहेका उनले आरोप लगाए । उनले भने, ‘चुनावमा समस्या खडा गर्न खोज्नेहरु, चुनाव हुन नदिनेहरु र नगराउनेहरु पनि गठबन्धनमै छन् । प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् ।’

तोकिए अनुसार नै निर्वाचन गराउन सजकतासाथ लाग्ने अध्यक्ष ओलीले स्पष्ट पारे । वैशाख ३० मा हुने चुनावको असाधारण महत्त्व रहेको ओलीको भनाई छ । सो चुनावले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्ने ओलीको बुझाई छ ।

प्रतिक्रिया