२९ करोडमा बन्याे होल्डिङ सेन्टर

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा रहेका शर्माले आज सेनाको निगरानीमा भगतपुर निर्माणधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशन समेत दिएका छन् ।उनले भने, ‘निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुपर्यो । निर्माण कमसल लगायतका दोषपछि सेनालाई नआओस् ।’
प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोली समेत सहभागी थिए । २९ करोड रूपैयाँको लागतमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म निर्माण हुने छ । निर्माणमा नेपाली सेनाको प्राविधिक टोली समेत खटिएको छ ।
चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ । होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रा. लि. का प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको जानकारी दिए । उनले भने, ‘फागुनसम्म निर्माण सकेर हस्तान्तरणको तयारीमा हुने छौँ ।’
प्रतिक्रिया