मंगलबार, जेठ १, २०८१

ओमानसँगको खेलमा सागर र विवेकको डेब्यू, सन्दीपको पहिलो कप्तानीमा बलिङ गर्दै नेपाल

नेपालखोज २०७८ माघ २८ गते १५:४३

काठमाडौं । नेपालले ओमानसँग खेल्ने टी–ट्वेन्टी सिरिजअन्तगर्तको खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको छ । स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले चार देश सहभागी भएको पहिलो खेलमा नै डेब्यू गरेका हुन् ।

ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालको कप्तानी पहिलोपटक सन्दीप लामिछानेले गर्न लागेका हुन् । नेपालका लागि विवेक यादव र सागरलाई खेलमा डेब्यू मिलेको छ भने सन्दीपलाई कप्तानीमा ।

बायाँ हाते युवा स्पिनर सागर ढकालले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेका थिए । इपिएलमा कमजोर मानिएको चितवन टाइगर्सलाई च्याम्पियन बनाउन सागरले ७ खेलमा १४ विकेटका साथ शीर्षस्थानमा रहँदै प्रतियोगिता उत्कृष्ट खेलाडी चुनिएका थिए । मलेसियामा २०१९ सम्पन्न एसीसी इस्टर्न रिजनमा नेपाललाई उपाधि जिताउन सागर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ४ खेलमा १५ विकेट लिएका थिए ।

युवा अलराउन्डर विवेक यादवले आक्रामक ब्याटिङ गर्छन् । उनले पार्टटाइममा तीव्र गतिको बलिङ पनि गर्ने गर्छन । एक वर्षअघि विवेकले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार २ उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । आइसीसी टी ट्वेन्टी विश्वकप ग्लोबल छनोट अघि तयारी स्वरुप हुन लागेको यस सिरिज दुवै टोलीको लागि महत्त्वपूर्ण छ । ओमान र नेपाल विश्वकप छनोटमा एकै समूहमा हुँदा यस नतिजाले मनोबलमा ठूलो प्रभाव पार्ने देखिन्छ । .

नेपालको टोली
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख विकेटकिपर , दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

ओमानको टोली
कप्तान जिशान मकसुद कप्तान, जतिन्दर सिंह, कश्याप प्रजापति, शोहिब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी विकेटकिपर, खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज ।

प्रतिक्रिया