मंगलबार, जेठ १, २०८१

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

नेपालखोज २०७८ माघ २९ गते ७:३५

इलाम । इलामको देउमाई नगरपालिकाको मंगलबारेमा फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिनेछ । युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिनाअघि मात्र क्लब स्थापना भएको हो । भानुभक्त माविको छात्रावास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ तथा उपविजेताले रु ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टिङ क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले जानकारी दिए ।

नेपाल आइसको मुख्य प्रायोजन रहेको उक्त गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ । करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म पाँच लाख ५० हजार रुपैयाँ संकलन भएको बताइएको छ । देउमाई नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ । देउमाई नगरपालिका वडा ५ ले रु ५० हजार तथा वडा नम्बर ४ ले ३० हजार रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ । -रासस

प्रतिक्रिया