‘एमसीसी नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत’

नेपालखोज २०७८ माघ २९ गते १३:४५

भरतपुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । चितवनमा आज (शनिबार) पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने डा. महको भनाइ छ ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने डा. महतले बताए । उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।’

एमसीसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ । महतले भने, ‘एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।’

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसदमा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए । उनले भने, ‘सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।’ संसदमा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको जनाए । उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।’ दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुंगो लाग्ने उनले जानकारी दिएका छन् । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने नेता महतको भनाइ थियो ।

प्रतिक्रिया