प्रधानमन्त्री देउवाको प्रस्ताव प्रचण्ड र नेपालद्वारा ठाडै अस्वीकार

नेपालखोज २०७८ माघ २९ गते १४:४८

काठमाडौं । सत्ता साझेदार दलका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा आज (शनिबार) भएको बैठकमा कुनै निष्कर्ष निस्किन सकेन । अमेरिकाले अनुमोदनका लागि दबाब दिइरहेका बेला कसरी अगाडि बढाउने विषयमा छलफल भयो । तर शीर्ष नेताहरू आ–आफ्नै अडानमा कायम रहेपछि आज बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच लामो छलफल भयो । छलफलका क्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रचण्ड र नेपाललाई अवगत गराए ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपाललाई भने, ‘अब ढिला नगरी एमसीसीलाई संसदमा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’ तर प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवाको प्रस्तावलाई सिधै अस्वीकार गरेको जनाइएको छ ।

एमसीसी अगाडि बढाउनुअघि दलहरुल साझा धारणा बनाउनुपर्नेमा नेताद्वयले जोड दिएका थिए । एमसीसी विषयमा प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरूले सल्लाह दिएका थिए । यस्तै स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने अडान प्रचण्ड र नेपालको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्बन्धमा आफ्नो अडान राखेपछि नेताद्वयले जबर्जस्ती गरिए ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको जनाइएको छ । देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिए ।

प्रतिक्रिया