सरकार र नेकपा (चन्द)बीच सहमति कार्यान्वयन सम्बन्धमा छलफल

नेपालखोज २०७८ माघ २९ गते १५:२१

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । नेकपासँग सरकारले विसं २०७७ फागुन २० गते तीन बुँदे सहमति गरेको थियो । सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा पनि छलफल भएको बताए । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी भएका थिए ।

नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण प्रस्तुत भएको प्रवक्ता पोखरेलले जानकारी गरे । बैठकपछि नेकपाका प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको जानकारी दिए ।

उनले भने, ‘केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन्, आशा छ छिटै निष्कर्ष निष्कन्छ ।,’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृह मन्त्रालयले उक्त पार्टीसँग निरन्तर छलफल गरे ।

प्रतिक्रिया