शनिबार, जेठ ४, २०८२

१०३ प्रतिशतको वृद्धिसँगै जीवन बिमाकोष बलियो बनाउँदै सिटिजन लाइफ

नेपालखोज २०७८ माघ २९ गते १६:४९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७८/७९ को दोस्रो त्रैमासिक (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमाकोष बलियो बनाउँदै सो मा एक सय तीन दशमलव ७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको जीवन बिमा कोष दुई अर्ब ३९ करोड ८१ लाख रहेकोमा यस पुस मसान्तमा सो रकम चार अर्ब ८८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

यसका साथै कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बिमाशुल्क एक अर्ब ४० करोड २१ लाख संकलन गरेकामा यस आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बिमा शुल्क आर्जन ७७ दशमलव १० प्रतिशतले बढेको देखिन्छ । समीक्षाअवधिमा जीवन बिमा कोषमा एक सय तीन दशमलव ७९ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११ दशमलव ७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बिमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४१ दशमलव ६० प्रतिशतले वृद्धि गरी ३२ करोड ७९ लाख रुपैयाँ पु¥याएको छ ।

जीवन बिमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम सात अर्ब ६४ करोड रुपैयाँमध्ये करिब ७४ दशमलव ६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने दाबी कम्पनीले गरेको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामीदिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बिमाको सचेतना बढाउन ‘जीवन बिमा जरुरी छ’, ‘विद्यार्थीसँग बिमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बिमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया