पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुँदैन : माधवकुमार नेपाल (भिडियोसहित)

नेपालखोज २०७८ फागुन १ गते १७:५६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको भनाई बाहिर आएको हो ।

उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गरे । आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने बताए । स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।

कानुनी आधारमा पार्टीको मान्यता पाएकाे उनको दाबी छ । उनले भने, ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौँ । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दै नौं ।’

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफू नरहेको समेत स्पष्ट पारे । अध्यक्ष नेपालले भने, ‘एमसीसी भन्ने अमेरिकाबाट प्राप्त भएको सहयोगको विषयपनि नेपाली समाजमा निकै ठुलो बहस र विवादको विषय बनेको छ । यो विषयको बारेमा हामी अझैपनि छलफल चलाइरहेका छौँ । विषयवस्तुमा प्रवेश गर्न पनि चाहिरहेका छौं । जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ । फैलिएका आशंका के–के छन् त्यो पनि बुझ्न चाहिरहेका छौँ । जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध कायम हुनेगरी हाम्रो समस्यालाई अरुले पनि बुझिदिउन भन्ने चाहाना राख्नेगरी अगाडी बढ्न चाहिरहेका छौँ । सबैसँग मित्रता भाव राख्न चाहान्छौँ । कसैसँग कटुता राख्न चाहादैनौँ ।’

अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रतिक्रिया