पोलिटिकल प्रेसरले काम गर्नै पाइनँ : मन्त्री यादव

नेपालखोज २०७८ फागुन १ गते १६:१०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रुख कटान र मुआब्जाका कारण सडक बिस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन् । शुक्रवार विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री यादवले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक बिस्तार गर्न सहज हुने बताइन् ।

उनले कतिपय स्थानमा भने स्थानीयको राजनीतिकरणको कारण पनि सडक बिस्तार हुन अवरोध भइरहेको बताइन् । मन्त्री यादवले वन, जंगल र मुआब्जाका कारण नारायणघाट–मुग्लिन सडकखण्ड निर्माणमा उल्लेख्य प्रगति हुन नसकेको बताइन् । मन्त्री यादवले भनिन्, ‘रोड बन्दा बन्दै मुआब्जा नदिँदा रोड अवरोध छ । कुनै ठाउँमा त घर नै कानुनअनुसार तोड्नु पर्ने राज्यको जमीनमा बनाउने घरहरुलाई पनि लोकल राजनीतिककरणको कारणले हामीले तोड्न सकेका छैनौँ । चितवनमा रामनगरतिर हामीले सबै इक्वीपमेण्ट लिएर सीडीओसँग संयोजन गरेर घर तोड्नैपर्छ सडकमा छ घर भनेर भन्यौँ । तर पोल्टिकल प्रेसर आएर सबै फिर्ता भयो । त्यसमा छलफल नै गर्न सकिरहेका छैनौँ । नारायणघाट मुग्लिन सडकखण्डको अवस्था अरुभन्दा अलि दयनीय छ । वनजंगल, मुआब्जाका कारणले समस्या भइरहेको छ ।’

मन्त्री यादवले आम जनताले विकास चाहे पनि सरकारले विभिन्न नीति नियम र कानूनमा संशोधन नगरिदिँदा चाहेजति विकास गर्न नसकेको बताइन् । उनले पछिल्लो तीन चार महिनामा सडकमा ८ प्रतिशतबाट बढाएर २० प्रतिशतसम्म पुँजीगत खर्च पुर्‍याएको दाबी गरिन् । मन्त्री यादवले फागुनसम्ममा पुँजीगत खर्चलाई सडकको क्षेत्रमा ३५ प्रतिशतसम्म पुर्‍याउने दाबी समेत गरिन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्रालयले मागेको भन्दा धेरै बजेट दिँदा बजेट खर्च गर्न समस्या भइरहेको बताए । उनले मन्त्रालयले बजेट धेरै दिँदा त्यो खर्च नहुने र काम कम भए जस्तो देखिने गरेको बताए । सचिव श्रेष्ठले काम भइसकेका निर्माण कम्पनिहरुलाई भुक्तानी गर्ने जिम्मेवारी मन्त्रालयलाई दिनुपर्ने माग राखे पनि अर्थमन्त्रालयले रकमान्तरको फाइल मागेर समस्या सिर्जना गरेको आरोप लगाए । उनले एकै प्रकृतिको काम लागि छुट्याइएको बजेट भौतिक मन्त्रालयलाई भुक्तानी गर्न दिँदा फरक नपर्ने बताए ।

प्रतिक्रिया