चौबीस घण्टामा ३ हजार ९३५ डिस्चार्ज, हालसम्म कोरोनाले ११ हजार ८९२ जनाको मृत्यु

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा थप ३ हजार ९३५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव १ प्रतिशत छ ।
त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ५ सय २१ जना थपिएका छन् । कुल १० हजार ११५ जनामा नमुना परीक्षण गरिएकोमा ५ सय २१ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९४ जना गरी ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २२ हजार ५८४ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८ सय ९२ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा ५६ हजार १२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया