एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोगको प्रतिवाद गर्ने

नेपालखोज २०७८ फागुन २ गते ११:४१

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज (सोमबार) बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको बताए । उनले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको पनि बताएका छन् ।

महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया