एमालेले ४ न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन : पौडेल

नेपालखोज २०७८ फागुन २ गते १६:३३

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक कांग्रेसका नेता पौडेलले एमालेले संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्च अदालतको निर्णयविपरीत महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए । वरिष्ठ नेता पौडेलले प्रस्ताव एमालेले ल्याए सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌बाट अस्वीकार गरिदिने दाबीसमेत गरे ।

संसद् विघटनको मुद्दामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले भने, ‘खैं, अब उहाँहरुले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन । प्रस्ताव ल्याउनुहोला भन्ने विश्वास छैन । र, एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएबापत महाअभियोग ल्याउन पाइँदैन । त्योचाहिँ सरासर अनुचित हो । किनभने मुद्दाको हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ ।’

पौडेलले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्‌मा महाअभियोग प्रस्ताव ल्याएको दाबी गरे । उनले प्रस्तावसँगै अव सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वाससमेत व्यक्त गरे । वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पुर्‍याएको बताए । उनले भने, ‘अहिले ढिलै भए पनि संसदका नेताहरुले अहिलेसम्म आँट गर्न सकेका थिएनन् । मलाई लाग्छ-प्रधानन्यायाधीशले पनि मत छोड्दैनन् । कि मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । म हट्ने हो भने महाअभियोग ल्याऊ । अथवा के गर भन्ने खालको उहाँको सधैंको सन्देश त्यही पनि थियो । अब उहाँकै आकांक्षालाई पूरा गर्न प्रस्ताव आएको जस्तो लाग्छ मलाई । सर्वोच्च अदालतको गतिरोध हटनुपर्छ । जनतालाई न्याय दिने अदालत यसरी ठप्प भएर बस्दा नेपाली जनताको न्याय हराएको थियो । अब त्यो न्याय जनताले पाउँछन् भन्ने मैले विश्वास लिएको छु ।’

नेता पौडेलले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बहिर्गमनका लागि राजीनामा पटकपटक सुझाएको पनि स्मरण गराए ।

प्रतिक्रिया