एमालेसँग संवाद गरेर संसद् नियमित गराउन बैठक फलदायी : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
उनले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताए । सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गरे । उनले भने, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद सूचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ । र त्यसका साथसाथै राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । र, त्यो सहमती बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले बताए । उहाँले भने, ‘संसदलाई कसरी सूचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । त्यसैगरी संसदमा विचाराधिन ४२ वटा विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ । प्रतिपक्षलाई पनि सहमतीमा ल्याएर संसद सूचारु गराउने सहमति भएको छ । एमालेले संसद अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ ।’
बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधिन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन समेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए । सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरु अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया