बालुवाटारमा घनिभूत छलफल, एमसीसी नरोक्ने माधव-प्रचण्डको सहमति

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन नेताको भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको छ ।
एमसीसी अब बस्ने प्रतिनिधिसभा बैठकमा लैजाने तयारीलाई अन्तिमरुप दिन तीन नेता छलफलमा जुटेको स्रोतको दाबी छ । देउवाले एमसीसीलाई अब आफूले रोक्न सक्ने स्पष्ट पारिसकेका छन् । देउवाले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव गरेपछि माधव र प्रचण्ड सहयोग गर्नुपर्ने अवस्थामा पुगेका छन् । महाअभियोग लगाउन देउवाले सहयोग गर्ने र एमसीसी पास गर्न माधव–प्रचण्डले नरोक्ने सहमति यसअघि नै भइसकेको थियो ।
देउवाले एमसीसीलाई कसरी अनुमोदन गर्न सकिन्छ भनेर दुई नेताको राय लिएका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्र सरकारमा रहेर सरकारको विरोध गर्न नहुनेमा स्पष्ट भइसकेको छ । माधव र प्रचण्डले मौन समर्थन गर्ने बुझिएको छ । देउवाको एकमात्र लक्ष्य एमसीसी अनुमोदन भएकाले दुबै नेता अप्ठ्यारोमा परेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री देउवाले गत विहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ ।

प्रतिक्रिया