केपी ओली बोलीमा अडिग हुनुपर्‍याे, एमसीसी पास गर्न सहयोग गर्नुपर्‍याे : सुजाता कोइराला

नेपालखोज २०७८ फागुन ३ गते १३:२०

काठमाडौं । नेपाली का‌ग्रेसकी नेता सुजाता कोइरालाले एमसीसीमा दोहोरो भूमिका नदेखाउन शिर्ष नेतालाई आग्रह गरेकी छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारसँग कोइरालाले दोहोरो भूमिकाका कारण एमसीसी पास नभएको बताइन् ।

उनले सबै पार्टीका नेतालाई एमसीसी तत्काल पारित गरेर अगाडि बढ्ने निर्णयमा पुग्न आग्रह गरिन् । उनले भनिन् ‘एमसीसी पारित नगरी बस्दा नेपाललाई ठूलो क्षति पुग्छ । नेताहरुले डबल स्ट्यान्ड छाड्नुपर्छ ।’

अहिले मुख्य दलको नेतृत्वमा रहेका नेताहरु प्रधानमन्त्री हुँदा एमसीसी बढाएको स्मरण गराउँदै अहिले आएर बोली फेर्न नमिल्ने बताइन् । देशमा विकास नै हुन नदिने एउटा समूह जहिले सक्रिय रहेको भन्दै त्यस्तालाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिइन् । उनले एमाले अध्यक्षलाई संकेत गर्दै एमसीसी अड्काएको आरोप लगाइन् ।

एमसीसीले नेपाल विदेशीको कब्जामा पर्छ, सैन्य प्रभाव बढ्छ भन्नु जग हसाउने कुरा भएको उनले स्पष्ट पारिन् । उनले भनिन् ‘एमसीसी आएमा विदेशी सेना नै आउँछ, सैन्य प्रभाव बढ्छ भन्दा दुनियाँ हाँस्छन् ।’

नेपालको सुरक्षाका लागि नेपाली जनता सक्षम भएको बताउँदै नेपाल विगतदेखि वर्तमानसम्म कसैको प्रभावमा नपरेको र भविष्यमा पनि नपर्ने बताइन् । एमसीसी लिन्न भन्दा राम्रो सन्देश नजाने बताइन् । उनले भनिन्, ‘एमसीसी नलिँदा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएर जान्छ ।’

प्रतिक्रिया