एमालेबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने माओवादीको धम्की

नेपालखोज २०७८ फागुन ४ गते १२:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने धम्की दिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमसीसी जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने बताएको हो ।

माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति जुटाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । संशोधन बिना एमसीसी पास गर्न नहुने माग अत्याधिक सांसद्बाट आएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । प्रचण्डलाई सांसद्हरुले सरकारले एमसीसी जबरजस्ती प्रस्ताव गरे सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका थिए ।

प्रचण्ड पनि नेकपा एमालेले संसद्को गतिरोध अन्त्य नगरेसम्म एमसीसी टेबल गर्न नहुने पक्षमा देखिएका छन् । योसँगै एमसीसी पास गरेर छाड्ने देउवाको रणनीतिमा सत्ता गठबन्धन दलकै असहयोग रहने सम्भावन बढेर गएको छ ।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने मत राखेका थिए । संसदमा टेबल गरिए जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन समेत प्रचण्डले सांसदलाई निर्देशन दिए ।

प्रतिक्रिया