माधव-प्रचण्डको एमसीसीमा ‘डबल–स्ट्यान्ड’ : रामचन्द्र पौडेल

नेपालखोज २०७८ फागुन ४ गते १७:१६

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामा जेलिएको बताएका छन् । उनले देशको विकास गर्न सबै दल जिम्मेवार हुनुपर्ने पनि स्पष्ट पारे ।

एमसीसीको विषयमा देश र जनतालाई धोका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएकाे उनकाे आरोप छ । उनले माधव-प्रचण्डले ‘डबल–स्ट्याण्ड’ को भूमिका खेलेकाे आराेप लगाए । उनले भने, ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालोमा जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौताबाट सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने उनले दाबी गरे । उनले भने, ‘ओलीजी एमसीसीको विपक्षमा जानै सक्नुहुन्न । एमसीसी संसद्मा गएपछि हामी उहाँको अग्निपरीक्षा हेर्छौं ।’

बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्ने विश्वास उनले दिलाए । उनले भने, ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । सबै तयार हुनुपर्छ ।’

उनले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम रहने पनि विश्वास दिलाए । उनले भने, ‘नेपालको राजनीतिमा परिवर्तन आयो, संविधान आयो, जनताले अधिकार पाए, यसलाइ सहन नसक्ने तत्वहरुको एउटा षड्यन्त्र छ । प्रचण्ड, माधव नेपाल हुँदैन भन्नेमा हुनुहुन्छ, परिवर्तनको पक्षमा भएको कारणले उहाँहरुसँग सहकार्यको आवश्यकत्ता छ ।’

प्रतिक्रिया