बलात्कार आरोपी सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी, प्रहरीले भन्यो- उनी सम्पर्क बाहिर छन्

काठमाडौं । बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।
जुम्लाकी एक शिक्षिकाले मुगुका सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्जी लिएको हो । पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ ।
सांसद बानियाँले प्रहरीलाई सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए । यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाई छ । पक्राउ पूर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन ।
बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।
बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।
प्रतिक्रिया