मंगलबार, जेठ १, २०८१

पोलार्ड, मोइन, सकिबलाई पछाडि पार्दै दीपेन्द्र टप ५० ब्याट्सम्यान नजिक

यसअघि दीपेन्द्र आइसीसीको उत्कृष्ट १०० खेलाडीको वरीयतामै थिएनन्

नेपालखोज २०७८ फागुन ४ गते १९:५२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–ट्वान्टी ब्याटिङ वरीयतामा उत्कृष्ट ५२ औं ब्याट्सम्यानमा अटाएका छन् । उनी एकैपटक उत्कृष्ट ५० खेलाडीको नजिक पुगेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान ऐरीले ओमानमा हालै सम्पन्न ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनले ५२ औं वरीयता हासिल गरेका हुन् । यो कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उच्च वरीयता हो ।

यसअघि दीपेन्द्र आइसीसीको उत्कृष्ट १०० खेलाडीको वरीयतामै थिएनन् । बुधवार आइसीसीले सार्वजनिक गरेको ब्याटिङ वरीयतामा उनले थुप्रै विश्वस्तरीय व्याट्सम्यानलाई पछि पारे । भारतीय ब्याट्सम्यान रिषभ पन्त, वेस्ट इन्डिजका काइरन पोलार्ड, ईंग्ल्यान्डका मोइन अलि, बंगलादेशका सकिब अल हसन, अष्ट्रेलियाका मार्कस स्टोइनिसजस्ता ब्याट्सम्यानहरु उनीभन्दा पछाडि छन् ।

हालै ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी श्रृंखलामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन खेलमा कुल १ सय ४२ रन बनाएका दीपेन्द्र दुईपटक म्यान अफ द म्याच भएका थिए । उनले आयरल्यान्डविरुद्व उत्कृष्ट बलिङ गर्दै चार विकेटसमेत लिएका थिए ।

यसअघि नेपालबाट कुशल भुर्तेल ५५ औं स्थानमा थिए । अहिले उनी ६५ औं स्थानमा झरेका छन् । यी दुई बाहेक अरु नेपाली ब्याट्सम्यान वरीयतामा परेका छैनन् ।

बलिङतर्फ नेपाली टिमका कप्तान सन्दीप लामिछाने ६३औं वरीयतामा छन् ।

प्रतिक्रिया