बिहीबार, जेठ ३, २०८१

आन्तरिक यात्रुले अब टिकटको प्रिन्ट बोक्नै पर्ने (रिपोर्ट)

नेपालखोज २०७८ फागुन ५ गते १४:२२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम लागु भएको छ । नियमानुसार फागुन ७ गतेदेखि हवाइ यात्राको लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो ।

एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने टर्मिनलभित्र प्रवेश पाइने छैन । यसअघि विमान कम्पनीले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागमा रहेको आन्तरिक टर्मिनलमा प्रवेश पाउन सहज थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार बसेको त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीचको बैठकले एसएमएसमा प्राप्त हुने टिकटको पीएनआर नम्बरका आधारमा टर्मिनल प्रवेश नदिने निर्णय गरेको हो ।

विमानस्थलले नयाँ नियम मंगलबार बाट नै लागू गर्ने बताएको थियो । तर, धेरै यात्रुलाई यो नियमबारे थाहा नभएपछि विमानस्थलमा यात्रु र कर्मचारीबीच भनाभन र घम्साघम्सी नै परेको थियो । मंगलबार विमानस्थल पुगेका यात्रुहरुले खुलेर नयाँ नियमको विरोध गरेपछि विमानस्थलले सबैलाई जानकारी गराएर नियम लागू गर्ने स्पष्ट पारेको हो । शनिबारबाट नयाँ नियम लागू हुने विमानस्थलले स्पष्ट पारिसकेको छ ।

प्रिन्टेडमा हुने सबै विवरण भएको डिजिटल टिकट भए प्रवेशमा समस्या नहुने सिटौलाले स्पष्ट पार्नुभएको छ । विभिन्न डिजिटल वालेट वा मोबाइल बैंकिङबाट टिकट खरिद गरेको भए त्यसको पीडीएफ देखाए पनि मान्यता हुने जनाइएको छ ।

पछिल्लो समय विमानस्थलभित्र एसएमएसमा प्राप्त भएको पुरानो पीएनआर देखाउँदै अनावश्यक मानिसहरु प्रवेश गर्ने गरेको पाइएपछि यस्तो नियम लागू गरिएको प्रवक्ता सिटौलाको भनाइ छ । यद्यपि विमानस्थलको नयाँ नियमबारे सामाजिक सञ्जालमा चर्का आलोचना भइरहेको छ । नयाँ नियमले जनताहरुलाई दुख दिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया