बिहीबार, जेठ २, २०८२

२३ सय सार्वजनिक विद्यालयमा ‘आइसीटी ल्याब’ स्थापना हुँदै : शिक्षामन्त्री पौडेल

नेपालखोज २०७८ फागुन ५ गते १९:२०

काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आइसीटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब बनाउने निर्णय गरिएको जानकारी दिए ।

शिक्षा पत्रकार समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले ३ वर्षभित्र देशभरका सबै विद्यालयमो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको स्पष्ट गरे । मन्त्री पौडेलले सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए ।

उनले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए । मन्त्री पौडेलले भने, ‘२३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा त्यसलाई निर्माण गरिनेछ ।’

सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको पौडेलले बताए ।

प्रतिक्रिया