बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन दिएको छैन : प्रवक्ता भट्ट

नेपालखोज २०७८ फागुन ५ गते १९:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । बिहीबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनको लागि निर्देशन नदिएको बताएका हुन् ।

उनले तरलता व्यवस्थापन गर्नको लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेको बताए । राष्ट्र बैंकले बैंकहरुलाई ब्याज निर्धारण गर्नको लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ । उनले बैंकहरुमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताए । बैंकहरुले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याजदर घट्ने गरेको उनले बताए ।

प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए । उनले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड दिएको बताए ।

प्रवक्ता डा.भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको बताए । उनले चालु आर्थिक वर्षको शुरुवातदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताए । बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेर वर्षमा मात्रै १३ खर्ब विस्तार भएकाले उनको भनाई छ ।

उनले विस्तार भएको कर्जामा अधिकांश हिस्सा आयातमा उपयोगी भएकाले बजारमा तरलता बढ्दै गएको बताए । डा.भट्टले राष्ट्र बैंकले तरलता व्यवस्थापनको सहजिकरण पनि गरिहेको बताए । उनले चालु आर्थिक वर्षको शुरुवात देखि अहिलेसम्म पटकपटक गरेर स्थायी तरलता सुविधाको माध्यमबाट ३९ खर्ब बजारमा पठाएको बताए । स्थायी तरलता बाहेक ३५० अर्ब अन्य मौद्रिक उपकरणहरु रिपो लगायत माध्यमबाट पठाएको उनको भनाइ छ ।

तरलता अभाव अर्थतन्त्रको विस्तार अथवा अर्थतन्त्रको संकुचनसँग जोडिएकाले अर्थतन्त्र विस्तारसँगै कर्जाको माग बढ्ने, कर्जाको माग बढेसँगै बजारमा तरलतामा दबाब बढ्ने गरेको डा.भट्टले बताए । उनले अर्थतन्त्र संकुचनमा जाँदा आर्थिक क्रियाकलाप सिथिल हुदाँ तरलता प्राप्त हुने गरेको बताए । अब केही समयपछि बजारमा बजारमा तरलता सहज हुने पनि बताए ।

प्रतिक्रिया