‘प्रचण्ड र देउवाले पठाएको पत्र अनुसार फागुन १६ भित्रै एमसीसी पास गर्ने सहमति बन्दैछ’

नेपालखोज २०७८ फागुन ५ गते २०:४२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाटै टुंगो लाग्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि बाहिरिने क्रममा उनले एमसीसी संसद्बाटै टुंगो लाग्ने दिशामा छलफल भइरहेको दाबी गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीले एमसीसीबारे फागुन १६ भित्रै निष्कर्षमा पुग्नेगरी गठबन्धनमा छलफल भइरहेको बताए । सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो । मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपछि सहमति जुटिनसकेको सञ्चारमन्त्री कार्कीले बताए ।

एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको उनको भनाइ छ । भोलि पुन बैठक बसेर सहमति जुटाउन प्रयास गरिने उनले बताए । उनले सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए । उनले सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि बताए ।

उनले फागुन १६ सम्ममा एमसीसी पारित गर्नुपर्ने भएकाले सरकारले यसतर्फ प्रयास गरिरहेको पनि बताए । संसद्बाटै टुंगो लाग्ने दिशामा विश्वस्त रहेको उनले स्पष्ट पारेका हुन् । उनले भने ‘यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयसीमा तोकेर पत्र पठाउनु भएको छ । उक्त पत्रमा तोकिएको फागुन १६ भित्र नै एमसीसीबारेमा निष्कर्षमा पुग्ने गरि गठबन्धनमा छलफल भइरहेको छ ।’

प्रतिक्रिया