वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठक : चरिकोट अस्पतालको नाम पशुपति चौलागाईँ स्मृति अस्पताल राखिने

मकवानपुर । वाग्मती प्रदेश सरकारको आज बसेको बैठकले दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईँ स्मृति अस्पताल राख्ने निर्णय गरेको छ ।
प्रदेशसभा सदस्य चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएको थियो । उनको स्मृतिमा अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले वाग्मती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँलाई बर्खास्त गर्नेसमेत निर्णय गरेको छ । प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नदिएको भन्दै उनलाई बर्खास्त गरिएको हो ।
बैठकमा प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीतभण्डार सञ्चालनसम्बन्धी कार्यविधि पास गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले स्थानीय र नीजि क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको नौवटा शीतभण्डार अब छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
बैठकले प्रदेश यातयात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुङ्गानाले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया