बुधबार, वैशाख १२, २०८१

संसारका लोकप्रिय खानेकुरा

नेपालखोज २०७८ पुष २२ गते ८:००

पहिलादेखि नै खाने पिउने कुरा एक ठाउँबाट अर्को ठाउँमा पुग्दै आएको छ । यो भौगोलिक अदला बदली नै विश्वव्यापिकरणको पहिलो लहर हो । इन्टरनेसनल सेन्टर फर ट्रपिकल एग्रिकल्चर, सीआईएटीले एक विस्तृत अध्ययनमार्फत विश्वभर प्रचलित मुख्य भोजन तथा पेय पदार्थ तथा तिनको उद्गम स्थल खोज्ने प्रयास गरेको थियो ।

आधा संसारको भोजन चामल
आज विश्वको आधाभन्दा पनि बढी जनसंख्याको मुख्य आहारा चामल हो । नेपालीहरूको मुख्य खाना चामल हो । धान चीनबाट आएको हो । एक किलो चामल उत्पादन गर्न ३ हजार देखि ५ हजार लिटर पानी खर्च हुने बताइन्छ ।

गहुँको यात्रा
सात हजार वर्ष पहिले पूर्वी इराक, सिरिया, जोर्डन तथा टर्कीमा गहूँको खेती हुने गरेको प्रमाण फेला परेको छ । गहुँलाई अनेकौं प्रक्रियाबाट ब्रेड-बिस्कुट, पास्ता-चाउचाउ तथा रोटी बनाउन प्रयोग गरिन्छ । अहिले गहुँको सबैभन्दा ठूला उत्पादक चीन, भारत, अमेरिका, रूस तथा फ्रान्स हुन् ।

मकै मानिसभन्दा जनावरलाई
मूलरूपमा सेन्टर मेक्सिकोमा उब्जने मकै आज विश्वका सबै महाद्विपमा पुगिसकेको छ । उत्पादन भएको १५ प्रतिशत मकै मात्र मानिसको थालसम्म पुग्छ । बाँकी मकै जनावरहरुलाई खुवाउन प्रयोग गरिन्छ ।

आलुको पेरुबाट युर‍ोप यात्रामा
दक्षिण अमेरिकाको एन्डिज मूल थल‍ो भएको आलुबाट आज विभिन्न किसिमका परिकार तयार गरिन्छ । सोह्रौं शताब्दिमा स्पेनका योद्धाहरूले पेरु माथि कब्जा जमाए पछि उनीहरूले त्यहाँ आलुको स्वाद चाख्न पाए । उनीहरूले नै आलुलाइ पेरुबाट यूरोप ल्याए । अहिले चीन, भारत तथा रूस आलुका सबैभन्दा ठूला उत्पादक भएका छन् ।

गुलियोका लागि उखु
उखु पूर्वी एशियाली क्षेत्रबाट आएको बताइन्छ । यसको मिठासको प्रयोग २५ सय वर्ष पहिलेदेखि हुँदै आएको इतिहास छ । आज विश्वमा सबैभन्दा बढी उखु खेती ब्राजिलमा हुन्छ । उखु खेती गाह्रो अनि कम कमाई हुने खेती मानिन्छ । यद्यपि उखुबाट तयार गरिने चिनी युरोपमा चुकन्दरबाट बनाइने चिनीभन्दा सस्तो हुन्छ ।

कफी -संसारै मोहित छ
इथियोपियाबाट सुरु भएर संसारकै प्रिय पेय बन्न सफल कफीले पनि निकै लामो यात्रा तय गरेको छ । एक कप कफी तयार गर्दा १४० लिटर पानी खर्च भएको हुन्छ । कफिको उत्पादनमा विश्वका करिब अढाई करोड किसान लागेका छन् ।

चीनबाट चिया
चिया चीनबाट आएको संसारमै सबैभन्दा बढी खपत हुने पेय पदार्थ हो । हर सेकेन्डमा संसारभर करिब १५ हजार कप चिया पिइन्छ । कफीको क्रेज भएको युरोपमा समेत अहिले चियाले आफ्नो स्थान बनाउँदै छ । ब्रिटिस शासनका बेला भारत आएको चिया त्यसपछि नेपाल पस्यो । त्यति नै बेला बेलायतीहरूले यसलाई श्रीलंकादेखि केन्या सम्म पुर्याए ।

केरा सर्वाधिक लोकप्रिय फल
केरा विश्वकाे सबैभन्दा लोकप्रिय फल हो भन्यो भने गलत हुँदैन । दक्षिणपूर्वी एशियाबाट आएको केरा आज संसारभर खाइन्छ भने यो अन्य फलको तुलनामा केही सस्तो तर फाइदाको हिसाबले बढी फाइदाजनक छ । अहिले केराको सबैभन्दा ठूलो निर्यातक ल्याटिन अमेरिका तथा क्यारेबियन देश हुन ।

प्रतिक्रिया