शुक्रबार, वैशाख १४, २०८१

अर्बौंको मालिक थिइन् ‘स्वर कोकिला’ लता मंगेशकर

नेपालखोज २०७८ फागुन ६ गते १६:५७

काठमाडौं । ‘स्वर कोकिला’ लता मंगेशकर ९२ वर्षको उमेरमा यस संसारबाट अस्ताएकी छन् । उनी भारत मात्रै नभई विश्वमै उत्कृष्ट गीतका लागि परिचित छन् । नेपाली भाषामा पनि गीत गाएकी मंगेशकरले विश्व रेकर्ड कायमसमेत गरेकी छन् ।

लताले आफ्नो जीवनको सुरुवातमा धेरै उत्तरचढाव भोगेकी छन् । उनका बाबुको निधनपछि उनले घरको जिम्मेवारी बहन गर्ने अवस्था आएको थियो । आमालाई सघाउने र साना भाइबहिनीको हेरचाहमा उनले विशेष ध्यान दिनुपर्यो ।

मुम्बईको ब्रिज क्यान्डी अस्पतालमा फेब्रुअरी ६ तारिख सरस्वती पूजाका दिन उनी संसारबाट बिदा भएकी छन् । वास्तवमा मंगेशकरले जति बढी गीत गाएकी थिइन्, त्यति नै बढी सम्पत्ति पनि कमाउन सकिन् । वास्तवमा उनले सरस्वतीको प्रसाद ‘स्वर कोकिला’ उपाधि मात्रै पाइनन्, लक्ष्मीको प्रसाद अथाह सम्पत्ति पनि कमाएकी छन् ।

भारत रत्नलगायत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित मंगेशकरले सन् १९४२ देखि आफ्नो करिअरको सुरुवात गरेकी थिइन् । उनले विश्वका विभिन्न ३६ भाषामा ५० हजार बढी गीत गाएकी छन् । आफ्नो गीत–संगीतको लामो यात्रामा उनले धेरै सम्पत्ति पनि कमाइन् ।

भारतीय सञ्चारमाध्यमहरूका विभिन्न रिपोर्टहरूअनुसार लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । यस सम्पत्तिलाई भारतीय रुपैयाँमा कन्भर्ट गर्दा तीन सय ६८ करोड रुपैयाँ हुन आउँछ । मंगेशकरको आम्दानीको स्रोत भनेको गीतको रोयल्टी र स्टेज कार्यक्रम, फिल्मी गीतको शुल्कलगायत थियो । मंगेशकरले पहिलोपटक मराठी फिल्मका लागि गीत गाएकी थिइन् ।

लता मंगेशकरको पहिलो गाना कहिल्यै रिलिज भएन । प्राप्त जानकारीअनुसार लताको पहिलो कमाइ २५ रुपैयाँ मात्रै थियो । गीत–संगीतमा भिज्दै जाँदा उनी अर्बौंका मालिक हुन पुगिन् । जीवनको उत्तराद्र्धमा पनि उनी सक्रिय थिइन् ।

जीवनको उत्तराद्र्धसम्म पनि उनको मासिक आम्दानी भारतीय ४० लाख रुपैयाँ थियो । वार्षिक कमाइ भने करिब ६ करोड रुपैयाँ भएको केही भारतीय सञ्चारमाध्यमको अध्ययनले देखाएको छ ।

उनले आफ्नो मिहिनेतका कारण धेरै सम्पत्ति कमाएकी हुन् । लता मंगेशकरको दक्षिण मुम्बईको पेडर रोडमा ठूलो भवन छ । आकर्षक उनको निवासको नाम ‘प्रभुकुञ्ज भवन’ राखिएको छ । उनी आठ तलाको यही भवनमा बस्ने गर्थिन् ।

मंगेशकरको घर महँगो ठाउँमा छ । यसको मूल्य पनि करोडौंमा छ । मंगेशकर कार चढ्न पनि खुब सौखिन थिइन् । उनले जीवनमा धेरै महँगा कारहरू चढेकी छन् । फिल्म निर्माता एस. चोपडाले पनि उनलाई एउटा मर्सिडिज कार उपहार दिएका थिए ।

मंगेशकर एउटा गीत गाएबापत ९० को दशकमा पाँच लाख रुपैयाँ लिने गर्थिन् । ५० हजार गीत गाउँदा उनले कति रुपैयाँ कमाउन सकिन् भन्ने पनि प्रस्टै हुन्छ । ९० को दशकमा पाँच लाख रुपैयाँ भनेको धेरै ठूलो रकम मानिन्थ्यो । समय परिवर्तनसँगै उनको शुल्क अझै बढ्दै गएको थियो । समयको मागअनुसार उनले गीत गाएबापतको रकम लिने गरेकी थिइन् ।

मंगेशकरले कुनै पनि फिल्ममा एउटा गीत गाउनका लागि ४० लाख रुपैयाँ शुल्क लिने गर्थिन् । उनको मुम्बई, दिल्ली, दुबईलगायत ठूला सहरमा सम्पत्ति छ । लताले सम्पत्तिको केही हिस्सा नातेदारलाई दिइन् । अधिकांश सम्पत्ति अनाथ बालबालिकाको हितका लागि घोषणा गरेकी थिइन् ।

लता मंगेशकरले आजीवन विवाह गरिनन् । उनी आफ्नो भाइ र बहिनीको साथमा बसिन् । उनका भाइ हृदयेश मंगेशकर उनको सम्पत्तिको मालिक हुनसक्ने जनाइएको छ । तर लताले जीवनको उत्तराद्र्धमा आफ्नो सम्पत्ति सामाजिक सेवाको लागि दिने बताएकी थिइन् ।

केही सम्पत्ति उनको भाइको नाममा भएर अधिकांश कुनै ट्रस्टको नाममा जाने भएको छ । उनले आफ्नो जीवनभर कमाएको सम्पत्ति आफ्नो परिवारका लागि खर्च गरिन् । बाँकी रहेको भने दान गर्ने निर्णय गरेको जनाइन्छ ।

-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया