एमालेको अवरोध कायमै, प्रतिनिधिसभामा एमसीसी टेबल भएन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपाएमालेको अवरोधका बिच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ।व। २०७७/७८ पेस भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरे ।
बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा विचाराधिन रहेका विधेयकहरुलाई पारित गर्न तथा कानून निर्माणको कामलाई अगाडी बढाउनक लागि संसदमा भइरहेको अवरोध खोल्न अनुरोध गरे । उनले भने, ‘सभाको बैठक विगत वर्षदेखि कोभिड १९ लगायतका कारणहरुबाट प्रभावित भइरहेको छ । यस महामारीका कारण सभाले सामान्यतया बैठकमा व्यतित गर्नुपर्ने समयमा अपेक्षाकृत न्युनता आएको छ । बैठक सञ्चालनका लागि उपलब्ध समयमा पनि अवरोधका कारणबाट सदन सुचारु हुन सकेको छैन ।’
सभा सञ्चालनमा सहयोग गर्न एमाले सांसदलाई सभामुखले आग्रह गरे । उनले भने, ‘आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको कुराप्रति ध्यानाकर्षण गराउँदै अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु ।’
प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया