पूर्वराजा शाहले भने- अलमलिएको सरकार, भत्किएको संसद र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कहाँ पुर्यायो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाए ।
शाहले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने बताए । उनले भने, ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ ।’
उनले प्रजातन्त्रले जनतालाई निराशामा डुबाउदै लगाएको बताए । उनले भने, ‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस हुँदै आएको छ । यसो हुनुमा नेतृत्वको मात्रदोष हो कि प्रणालीपनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ ।
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको उनले स्पष्ट पारे । उनले भने, जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथकभएर बाहिरी लोभ, प्रलोभनमा पर्न पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतन्त्र स्फुर्त एवं लोकसम्मत हुन्छ रहुन पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्याइ रहेको छ ।’


प्रतिक्रिया