‘आम जनतालाई सु-सूचित गराउने राससको दायित्व अझ बढेको छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय समाचार समिति (रासस)को दायित्व अझ बढेको उल्लेख गरेका छन्।
राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सूचना र प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको अवस्थामा रासस जस्ता राज्यका समाचार संस्थाको दायित्व अझ बढेको उल्लेख गरेका हुन्। मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री देउवाले राससले पनि आफ्नो स्थापनाकालदेखि नै परिवर्तनको पक्षमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको भनी उल्लेख गरेका छन् ।
पछिल्लो समय गलत र भ्रामक समाचार पनि बढ्न थालेको सन्दर्भमा राससले तथ्यपरक समाचारलाई प्राथमिकता दिएर राज्यको नीति र कार्यदिशालाई रचनात्मक ढङ्गले प्रभावित गर्न सक्ने स्वस्थ र सिर्जनशील जनमतको निर्माण गर्न आवश्यक रहेकामा उनले जोड दिएका छन्।
प्रधानमन्त्री देउवाले सुदृढ लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार वकालत गर्नेतर्फ राससको विशेष ध्यान जाने विश्वास व्यक्त गर्दै राससले आफ्ना सेवाहरुलाई समयानुकूल समयसापेक्ष रूपमा परिमार्जन गर्दै विविधीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल सरकार राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउन सदैब प्रयत्नशील रहने उल्लेख गर्दै उनले राससले आफ्ना सेवालाई चुस्त, प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताए । राससले आफ्ना सेवालाई अझै प्रभावकारी बनाउन कर्मचारी र पत्रकारहरुलाई समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा पनि तालिम तथा क्षमता वृद्धि गराउनु पर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले वार्षिकोत्सवका अवसरमा राससले राज्यका सबै पक्षका सुभावना मुखरित गर्दै आफूलाई एक अब्बल र नेतृत्वदायी सञ्चार माध्यम बनाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले सरकारका तर्फबाट उत्तरोत्तर प्रगतिका लागि राससको व्यवस्थापन, कर्मचारी एवं पत्रकार, सेवाग्राही तथा शुभचिन्तक सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया