एमसीसीबारे चीन-अमेरिका दोहोरिमा किन उत्रिए ?

काठमाडौं । एमसीसीबारे आ-आफ्नो धारणा सार्वजनिक गर्दै चीन र अमेरिका दोहोरीमा उत्रिएका छन् । नेपालको आन्तरिक मामिलामा भाझो नहाल्न चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
अमेरिकाले पनि हिंसा भड्किने कुनै विचार स्वीकार्य नहुने बताइसकेको छ । यता चीनले अमेरिकाले धम्कीको कुटनीति गरेको आरोप लगाएको छ । नेपालमै एमसीसीलाई लिएर मत विभाजित भएको अवस्थामा चीन-अमेरिका दोहोरीमा उत्रिए ।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको बारेमा खुला बहस गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सामाजिक सन्जालमार्फत राजदूत बेरीले जो कोहीले एमसीसीको विषयमा आफ्नो अभिव्यक्ति, विचार राख्न सक्ने तर, हिंसा भड्काउने विचारहरु स्वीकार्य नहुने बताए ।
उनले हिंसा भडकाउँदैमा लोकतन्त्र नहुने बताए । उनले भने, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यहीँ हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसनलाई लिएर नेपालमा सत्ता गठबन्धनमा मात्र विवाद बढेको हैन । यसलाई लिएर अमेरिका र चीनले पनि एकअर्काविरुद्ध टिकाटीप्पणी सुरु गरे । उनीहरूको अभिव्यक्तिले नेपालको पक्ष लिएको जस्तो देखाउन खोजे पनि आ-आफ्नो पक्षपोषण गरेको स्पष्ट हुन्छ ।
चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । बेइजिङमा शुक्रबार पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाएको हो । चीनले यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’
पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित गर्न वा पुनर्विचार गर्न भनेको नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो । हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसीबारे विवाद बढ्दा आन्दोलन चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने चीनले बताएको हो ।
परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए । उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए ।
एमसीसीमा दुवै देशले चासो लिएको प्रष्ट भएको छ । नेपाल अप्ठ्यारोमा परेको छ । एमसीसी अनुमोदन भए चीन रिसाउने अनुमान लगाउन सकिन्छ । अनुमोदन नभए अमेरिकाले कुनै प्रकारका सहयोग नगर्ने बुझाइ शीर्ष नेताहरुमा नै छ । अब एमसीसीबारे सरकार कसरी अघि बढ्छ चासो र चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया