‘शीघ्र सबैखाले चुनाव गर्दै शासन व्यवस्था सुदृढ बनाऔं’

नेपालखोज २०७८ फागुन ७ गते १२:२४

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जानु पर्नेमा जोड दिएका छन् । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले यसका लागि सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताए । सबै चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री देउवाले विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई अब हामी सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए ।

उनले मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएकाले हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो रहेको जनाएका छन् । सहिदका अधुरा सपना पूरा गर्ने र पुर्खाले देख्न र भोग्न चाहेको नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्नसक्ने समतामूलक समाज निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व भएको जनाएका छन् ।

उनले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका संरचना र पूर्वाधार नवनिर्माण र पुनर्निर्माणको कार्य पूरा हुन नपाउँदै हामीले कोभिड–१९ को महामारीको प्रकोपलाई सामना गर्न परिरहेको जनाएका छन् । यसले नेपालीको जीवन र अर्थतन्त्रमा ठूलो असर गरेको तथा कोभिड–१९ को प्रकोपलाई नियन्त्रण गर्न सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको र यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको जनाएका छन् ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवा विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले जनाएका छन् । प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया