कमल थापाले भने- गीताको कसम खाएकाले पार्टी फुटाइनँ

नेपालखोज २०७८ फागुन ७ गते १५:०८

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले गीतामा हात राखेर कसम खाएको कारण राप्रपा नफुटाएको दाबी गरेका छन् । विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि कुनै कदम नचालेको उनको भनाइ छ ।

नयाँ पार्टी घोषणासभामा थापाले भने ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

अर्को प्रसंगमा नेता थापाले एउटा दलभित्र एउटा गुट र व्यक्तिको पक्षपोषणमा राजसंस्था लागेको आरोप लगाएका छन् । राजसंस्था राजनीतिभन्दा माथि उठेको अभिभावक नबनेको उनको टिप्प्णी छ । उनले राजसंस्थाको व्यवहारले आफूहरूले परिकल्पना गरेको राष्ट्रियता र एकताको प्रतीकको रूपमा संविधानभित्र रहने सेरेमोनियल राजसंस्थाको मान्यतामाथि आघात पुगेको दाबी गरेका छन् ।

अध्यक्ष थापाले एकता महाधिवेशनमा अध्यक्ष पदमा हारेपनि स्वीकार गरेको ,नवनिर्वाचित अध्यक्षलाई शुभकामना दिएको बताए । तर राप्रपाको आन्तरिक मामिलामा हस्तक्षेप भएका कारण पार्टीले यो विषयको निराकरण गर्नुपर्छ भनेर अनुनय विनय गरेको उनको भनाइ छ । दुई पटक लिखित रूपमा नै हस्तक्षेप भएको जानकारी गराए पनि नजरअन्दाज गरिएको उनको गुनासो छ ।

थापाले एकपक्षीय ढंगबाट पार्टी सञ्चालन गर्ने काम भएको पनि आरोप पनि लगाएका छन् । उनले आफूहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउने र पार्टीबाट धकेलेर पर पुर्याउने परिस्थितिको निर्माण गरिएको जनाएका छन । राप्रपा सैद्धान्तिक रूपमा विचलित भएको थापाको दाबी छ ।

प्रतिक्रिया