एमसीसीबारे अहिले भएका आलोचनामा कुनै सत्यता छैन : डा. महत

नेपालखोज २०७८ फागुन ७ गते १७:५३

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनु पर्नेमा उनले जोड दिए । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ । साथै डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए । उनले थपे, ‘एमाले एमसीसीको पक्षमा छ । देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन् । एमसीसी नीजि स्वार्थको लागि होईन, कांग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो । एमसीसीबारे भएका आलोचना गलत छन् ।’

उनले कम आय भएका मुलुकहरुलाई सहयोग गर्नको लागि अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारेका छन् । महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए । एमसीसीबारे अहिले भएका र गरिएका आलोचनाहरु सबै असत्य रहेको उनको टिप्पणी छ ।

उनले बौद्धिक सम्पत्ति पनि एमसीसीकै हुन सक्छ भनेर अर्को आलोचना भएको विषय उल्लेख गरेका छन् । तर, त्यसमा पनि कुनै सत्यता नभएको उनको जिकिर थियो । उनले अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न नसकिने पनि सुनाए । बरु, कुनै कुरा र विषयमा आशंका छ भने त्यसबारेमा स्पष्टीकरण माग्नुपर्छ भन्ने उनको भनाई छ ।

प्रतिक्रिया