सोमबार, वैशाख १७, २०८१

मधुमेहका रोगीले खानुपर्ने १० जडीबुटी !

डा. हेमराज कोइराला २०७८ फागुन ९ गते २०:४७

१. चुत्रो : चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्टेरोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।

२. बेसार : बेसारमा कुर्कुमिन नामक तत्त्व पाइन्छ जुन एन्टी इन्फ्लामेटरी गुण भएको तत्त्व हो । बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौ प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ । यसैगरी कुर्कुमिनको सेवनले इन्सुलिन प्रतिरोधकता कमगरेको, इन्सुलिन समवेदनशीलता बढाएको, इन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पूर्वमधुमेहीहरूलाई समेत ठीक गरेको तथ्य प्रकाशमा आएका छन् ।

३. दालचिनी : हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफैंमा एउटा सुपरफुड हो । दालचिनीमा प्रचूरमात्रामा एण्टि–अक्सिडेण्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कमगरेर रक्तग्लूकोज कम गर्दछ । वैज्ञानिकहरू दालचिनीमा इन्सुलिनले जस्तै कामगर्ने तत्त्व भएको मान्दछन । दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी. तीनैको रक्त स्तर कमगरेको तथ्य प्रकासित भईसकेका छन । यसैगरि दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाइएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठूलो मद्दत पुर्याउँछ ।

४.तीते-करेला : तीते-करेलामा Cherintin, Vicine, Lectin र Polypeptide P जस्ता औषधिय तत्त्वहरू छन । चेरिन्टिनले ले रक्त ग्लूकोज कम गर्दछ भने भिसिन, लेक्टिन र पोलिपेप्टाईड पी ले इन्सुलिनले जस्तै कार्य गर्दछ ।

५. मेथी : मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशिल रेशाहरू छन् । यी रेशाहरू आन्द्रामा पुगेर पानीमा घुलिदा बनेको लेदोले कार्बोहाईड्रेट्सको पाचन र अवशोषण दुवैलाई सुस्त बनाइदिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एन्टी–अक्सिडेन्ड पनि पाईन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथिलाई उमारेर पनि खान सकिन्छ ।

६. घिउकुमारी : घिउकुमारीको रस पिएर रक्तग्लूकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रिय तत्त्वहरू पाईन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी.को स्तरलाई घटाउदछ । दैनिक १ चम्चा घिउकुमारीको गुदि बिहान खादा मधुमेहमा राम्रो गर्दछ ।

७. विजय-साल : विजय-सालको पानी पिउँदा हाड जोर्नीहरूको दुखाइ कम हुने, तौल घट्ने, रक्त शुद्धीकरण हुने आदि कथनहरू प्रचलनमा छन् तर विजयसालको बोक्राको पानी उमालेर पिउदा मधुमेह पनि कम हुन्छ । विजयसालको बोक्राको काँढा दिनको २ चोटि खादा राम्रो गर्दछ ।

८. लसुन : लसुनमा शरीरलाई फाईदा पुर्याउने ४०० भन्दा धेरै तत्त्वहरू छन् र तीमध्येका केही तत्त्वहरू जस्तै allici, allyl propyl disulfide and S-allyl cysteine sulfoxide ले इन्सुलिनलाई कलेजोमा निस्क्रिय हुन नदिएर रक्त इन्सुलिनको मात्रा बढाउदछ । रक्त ग्लूकोजलाई कम गर्नुका अलावा लसुनले ईन्लामेसन कमगर्ने, कोलेस्टेरोल कम गर्ने र रगत पातलो पार्ने काम गर्नेहुँदा यसले पनि मधुमेहको जटिलता घटाउदछ । दैनिक १५ ग्राम लसुन खादा मधुमेहमा राम्रो गर्दछ ।

९. सिस्नु : सिस्नु पनि बहुउपयोगी जडीबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी.को स्तरलाई राम्ररी घटाउछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान इन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानियको छ ।

१०. गुडमार : यो औषधि खाएर कुनै पनि गुलियो चिज खाँदा गुलियो चिजको स्वाद पट्टकै रहँदैन । यसैले यसको नाम गुडमार राखिएको हो । गुडमार खाए पछि गुलियो वस्तु प्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान Gymnemic acid ले स्वाद ग्रन्थीको गुलियो ग्रहकलाई रोक्दछ ।गुडमारको सेवनले आन्द्रामा ग्लूकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउँछ भने इन्सुलिनको उत्पादनलाई पनि बढाउदछ । गुडमारको पातको धुलो १ चियाचम्चा बिहान पानीसंग घोलेर खाएको राम्रो हो ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया