समाजवादीको बैठक बस्दै- एमसीसीबारे पक्ष र विपक्ष आम्नेसाम्ने हुने

काठमाडौं । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमसीसीबारे विवाद भएको समयमा बैठक आज दिँउसो बस्ने बताइएको छ ।
शनिबार मात्र बसेको स्थायी समिति बैठकले एमसीसी संशोधन नभए संसद्मा पेस नगर्ने सुझाव दिएको थियो । तर समाजवादीको बैठकले गरेको निर्णय लागु भएन । अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन बैठकमा एमसीसी टेबल गर्न सहमति जनाएपछि समाजवादीका नेताले नै आलोचना गरे । समाजवादीका नेताले माधवले पार्टीको सहमतिबिना नै एमसीसी अघि बढाएको आरोप लगाए ।
समाजवादीले विज्ञप्ति निकालेर एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरको छ । लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेस गर्न तयार भएको उल्लेख थियो ।
स्थायी कमिटीको निर्णय नै एमसीसीबारे आधिकारिक निर्णय भएको बताउँदै समाजवादीका नेताले एमसीसीको विरोध गर्ने स्पष्ट पारिसकेका छन् । उनीहरुले एमसीसीमा कुनै सहमति नजनाउने स्पष्ट पारेका छन् । यता समाजवादीबाट मन्त्री बनेकाले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बुझिएको छ ।

प्रतिक्रिया