नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालखोज २०७८ फागुन ९ गते १६:२१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन् । अनुगमन तथा निरीक्षण गर्दे आज मन्त्री श्रेष्ठले मालपोत कार्यालयप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको छवि जोडिएकाले सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् ।

मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महसुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी हुन् । विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि मन्त्री श्रेष्ठले बताइन् ।

उनले देशभरका मालपोत कार्यालयमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसुर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिइन् । छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरिन् ।

प्रतिक्रिया