‘एमसीसी नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग’

नेपालखोज २०७८ फागुन ९ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले आज सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए । एमसीसीको समस्या जटिलरुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे ।

एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उनले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेस भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताए । उनले देशमा संकट नगहिरियोस् भन्नका लागि आफु प्रयत्नशील रहेको बताए ।

उनले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताए । एमसीसीले विद्युत् र सडकमार्फत् नेपालको गरिबी हटाउन मद्दत पु¥याउने उनको भनाई छ । एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उनले बताए । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया