बुधबार, जेठ २, २०८१

पुटिनद्वारा सेनालाई पूर्वी युक्रेन प्रवेश गर्न आदेश

आफू नडराएको युक्रेनका राष्ट्रपतिको प्रतिक्रिया

नेपालखोज २०७८ फागुन १० गते ११:१४

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रमा आफ्ना सेनालाई प्रवेश गर्न निर्देशन दिएका छन् । ती क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउँदै रुसी सेनालाई शान्ति स्थापनाका लागि भन्दै परिचालन हुन आदेश दिएका हुन् । पुटिनको यो आदेशसँगै युक्रेन संकट चुलिएको छ ।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् । उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

रुसी राष्ट्रपति पुटिनले युक्रेनका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन्। पुटिनले हस्ताक्षर गरेको आदेशमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । रुसको सैन्य बलले छिट्टै सीमा पार गर्न सक्ने चिन्ता बढाएको छ ।

रुसी एक टेलिभिजन सम्बोधनका क्रममा पुटिनले राष्ट्रका रूपमा युक्रेनको अस्तित्व नरहेको बताए । युक्रेनका राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गर्दे युक्रेन नडराएको प्रतिक्रिया दिएका छन्। उनले विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रहरूमा प्रतिबन्ध लगाएका छन् । आफ्ना नागरिकहरूलाई त्यहाँ थप लगानी गर्न वा व्यापार नगर्न भनेका छन् ।

प्रतिक्रिया