राष्ट्रवादी केन्द्र नेपालले फागुन १२ गते संसद् भवन अगाडि एमसीसीविरुद्ध आन्दोलन गर्ने

नेपालखोज २०७८ फागुन १० गते १५:५३

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध फागुन १२ गते अपरान्ह १२ बजे बानेश्वरमा आन्दोलन गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर केन्द्रले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनताका लागि भद्र प्रतिरोध आन्दोलन सुरु गर्न लागेको जानकारी गराएको हो ।

एमसीसी राष्ट्रघाती सम्झौता भन्दै यही फागुन ८ गते संघीय संसदमा टेबुल भएकोप्रति केन्द्रले घोर भत्सर्ना समेत गरेको छ । नेपालको संविधान र मातहतका कुनैपनि कानुनले एमसीसीलाई व्याख्या, नियन्त्रण र निर्देशन गर्न नपाउने, संसदबाट पारित भए पुनः संशोधन गर्न नमिल्नेलगायतका असमान, राष्ट्रघाती सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्रको विरुद्धमा यो सम्झौता रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता शैलेन्द्र महतले नेपाललाई सधैँ नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता राख्नको लागि शान्तिपूर्ण आन्दोलन गर्न लागेको बताए । उनले भने, ‘एमसीसी सम्झौतालाई खारेज गर्नको लागि हामीले देशव्यापी रुपमा शसक्त प्रतिरोध अभियान सुरुवात गरेको हौं ।’
आफ्नो पार्टीले सरकारको नराम्रा कामको विरोध गर्दै आएको उनले स्पष्ट पारे । उनले भने, ‘एमसीसी संसदबाट पारित गरेमा नेपाल ईन्डो–प्यासिफिक रणनीतिको हिस्सेदार भई दीर्घकालीन राजनीतिक अस्थिरता सिर्जना गर्दै रणभुमीमा परिणत हुनेछ ।’

एमसीसी सम्झौतामा भएका बुँदाहरु नेपालका लागि राष्ट्रिय तथा क्षेत्रीय हित विरुद्ध रहेकोले देशभक्त नेपालीहरुलाई सैह्य नहुने उनको भनाई थियो । एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिँदै महतले सम्झौतालाई खारेज गराई राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी केन्द्र नेपालले देशव्यापी रुपमा शसक्त प्रतिरोध अभियान सुरुवात गरेको जानकारी दिए ।

एमसीसी सम्झौता देशको दिर्घकालीन हित विरुद्ध भएकोले यसको पूर्ण खारेजीका लागि आम रुपमा शसक्त जनदबाब सिर्जना गर्न आगामी फागुन १२ गते दिउँसो १२ बजे बानेश्वर संसद भवन अगाडी उपस्थित हुन पनि सम्पूर्ण राष्ट्रवादी जन समुदायलाई उनले आग्रह गरे । प्रवक्ता महतले सम्पूर्ण राजनैतिक दल र नेतृत्वहरुलाई देशव्यापी प्रतिरोध गर्दै घोषित निर्वाचनमा समेत मतदान बहिष्कार गरी राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलबद्ध हुन आम जनसमुदायमा अपिल गरे ।

प्रतिक्रिया