मंगलबार, वैशाख १६, २०८२

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

नेपालखोज २०७८ फागुन १० गते १६:०८

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जाबिस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत माघमा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा छ ।

गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१ दशमलव २६ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार २८ दशमलव ५१ प्रतिशतले वृद्घि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये १६ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्घिदर १० दशमलव ३७ प्रतिशत छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्घि भएको देखिन्छ ।

नेपालभर नेपाल बैकले दुई सय १३ शाखा, एक सय ४७ एटीएम मेसिनका साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङसेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोडदिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि बैंकको बचत खाता एवं मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया