माधव-प्रचण्डले एमसीसीको पक्षमा मत नदिए सरकारमा सँगै बस्दैनौं : गगन थापा

नेपालखोज २०७८ फागुन १० गते १६:२९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका पक्षमा गठबन्धनका सबै दलले मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । चितवनमा पत्रकारसँग आज कुरा गर्दै थापाले विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने स्पष्ट पारे ।

थापाले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए । उनले भने, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको उनले बताए । उनले छलफलपछि सबैले एमसीसीको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा प्रस्तुत गरको उनको दाबी छ ।

उनले आफ्ना नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए । उनले भने, ‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ ।’

प्रतिक्रिया