नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्न लागेको हो ।
काठमाडौंमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।
बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ । सहसचिवस्तरीय कार्यदलमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेतृत्व गर्दै छन्, भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सहसचिवले गर्ने छन् । सचिवस्तरीय बैठक भने भोलि हुनेछ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया