नयाँ पार्टी घाेषणा भएपछि राप्रपाको बैठक सर्यो, कमल थापा पक्षका नेता के गर्लान् ?

काठमाडौं । नयाँ पार्टी कमल थापाले घोषणा गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय समिति बैठक प्रभावित भएको छ । बुधबार र बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाइएको भएपनि तयारी नपुगेको भन्दै बैठक सारिएको छ ।
बैठक एक साता सरेको हो । राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्ने जानकारी दिइएको छ । फागुन ७ गते कमल थापाले राप्रपा नेपाल घोषणा गरेका थिए । थापाले पार्टी घोषणा गरेसँगै राप्रपाबाट केही नेता उनीतिर लागेका छन् । सो क्रम अझै जारी रहने प्रवल सम्भावना रहेको अनुमान लगाउन सकिन्छ ।
राप्रपाको महाधिवेशनबाट कमल थापा पक्षका पदाधिकारीसहित उल्लेख्य संख्यामा केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुमध्ये धेरै अझै पनि लिङ्देनको राप्रपातिरै रहेका छन् । पार्टी नफुटाउने ‘गीताको कसम’ अनुसार पार्टी परित्याग गर्दै थापाले नयाँ पार्टी गठन गरेका थिए । उनले नयाँ पार्टी नै खोलेको भने होइन् । राप्रपा नेपाल निर्वाचन आयोगमा लाक्पा शेर्पाकाे नाममा दर्ता थियो । लाक्पाले थापाकाे नासो भनेर पार्टी उनलाई जिम्मा लगाए ।
पार्टी विभाजनको सन्देश नजाने गरी राप्रपाका आफू निकटका नेतालाई राजीनामा गराएर पार्टीमा भित्र्याउने रणनीतिमा थापा छन् । छिट्टै अन्य नेता पनि कमल थापातिर लाग्ने दाबी राप्रपा नेपालले गर्दै आएको छ । पार्टीका कतिपय केन्द्रीय सदस्य कमल थापातिर लाग्न सक्ने हुँदा तत्काल बैठक राख्न उपयुक्त नहुने निष्कर्षका साथ बैठक सारिएको बताइएको छ ।
एमसीसीको विरोधमा पार्टीका भ्रातृ संगठन सडकमा रहेको तथा अन्य तयारी पनि गर्नुपर्ने भएकाले बैठक जम्मा एक साताका लागि सारिएको राप्रपाले जनाएको छ । पार्टी एकढिक्का रहेको भन्दै पार्टीप्रति आकर्षण पनि बढ्दै गएको राप्रपाको दाबी छ । यता कमल थापा भने राप्रपाबाट नयाँ पार्टीमा आफू निकटका नेता आउने पर्खाइमा छन् ।

प्रतिक्रिया