निक्षेप खाताको संख्या ४ करोड १८ लाख नाघ्यो
यस्तो छ निक्षेप तथा कर्जा खातासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो अपडेट

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप खाताको संख्या चार करोड १८ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालमा लघुवित्त वित्तीय संस्थाहरूबाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ फाइनान्ससमेत गरी कुल ६१ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । यी सबै संस्थाहरूमा सञ्चालनमा रहेको खाताको संख्या चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा चार करोड १८ लाख ३८ हजार चार सय ९१ पुगेको जानकारी राष्ट्र बैकले दिएको छ ।
कुुल निक्षेप खातामध्ये वाणिज्य बैंकहरूमा तीन करोड ५७ लाख ८० हजार दुई सय ९२, विकास बैंकहरूमा ४८ लाख ५० हजार चार सय १९ र फाइनान्स कम्पनीहरूमा १२ लाख सात हजार सात सय ८० वटा खाता सञ्चालनमा छन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने ६ हजार एक सय ६९ वटा रहेको राष्ट्र बैंकको भनाइ छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार आठ सय ५६, विकास बैंकहरूको एक हजार ६५ र फाइनान्स कम्पनीहरूको दुई सय ४८ शाखा सञ्चालनमा छन् । पछिल्लो समय राष्ट्र बैंकले एक नेपाली एक बैंक खाता भन्ने नारालाई अभियानकै रूपमा लगेर वित्तीय पहुँच विस्तारलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याएका कारण पनि बैंकहरूमा निक्षेप खाताको संख्या बढेको हो, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन् । वित्तीय साक्षरता बढ्नुले वित्तीय पहुँच विस्तारमा सहयोगी भूमिका खेलेको र सोहीअनुरूप बचत खाता संख्या बढेको प्रवक्ता भट्टको भनाइ छ ।
चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकिङ क्षेत्रमा रहेको कर्जा खाताको संख्या भने १८ लाख एक हजार पाँच सय ५४ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरूमा १४ लाख ५३ हजार सात सय ३३ वटा कर्जा खाता सञ्चालनमा छन् । प्रवक्ता डा. भट्टका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूमा भने यस्तो खाताको संख्या क्रमशः तीन लाख आठ हजार पाँच सय ९६ र ३९ हजार दुई सय २५ वटा रहेका छन् ।

प्रतिक्रिया