देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, गठबन्धन जोगाउने प्रयास हाेला त सफल ?

नेपालखोज २०७८ फागुन १२ गते १२:५९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा नेकपा एसका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग प्रचण्डले अगाडि बढ्ने रणनीति बनाएका छन् । उनीहरुले कसरी अघि बढ्ने भन्ने धारणा बनाएका छन् । छलफलकाे धारणा प्रचण्डले प्रधानमन्त्रीलाई सुनाउने छन् । उनले देउवालाई फकाउने गृहकार्य जारी राखेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । बाबुराम भट्टराई पक्ष भने पारित गर्नुपर्ने पक्षमा छ । सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले एमालेसँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।

एमसीसी अनुमोदनको सकस झेलिरहेका प्रचण्डलाई पार्टीबाट एमसीसीको विपक्षमा उभिन् निर्देशन छ । उनी एमसीसीको पक्षमा उभिए पार्टी फुट्ने विपक्षमा उभिए गठबन्धन टुट्ने खतरा छ ।

प्रतिक्रिया