‌ओली-देउवा वार्ता, प्रदेश सरकारदेखि सभामुखलाई हटाउनेसम्मका कुरा !

नेपालखोज २०७८ फागुन १२ गते १७:००

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका छन् । आज भएको छलफलमा एमसीसी पास गराउनेगरि सहमति भएको स्रोतको दाबी छ । एमालेले एमसीसी पास गराउनको लागि सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने सर्त राखेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ ।’

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा सहभागी थिए । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी थिए । एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

एमसीसीलाई लिएर सभामुखको भूमिका सकारात्मक नभएकोले तत्काल उनलाई हटाउनुपर्ने एमालेको प्रस्ताव छ । यसमा कांग्रेस पनि सहमत भएको बुझिएको छ । सभामुख हटाउनको लागि जसपाको बाबुराम भट्टराई पक्ष र लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने बुझिएको छ।

त्यस्तै, एमालेले तत्काल सरकारमा सहकार्य नगरेपछि आगामी जेठ १५ गतेको बजेटलगत्तै चुनावी सरकारमा भने सहभागिता जनाउनेबारे सहमति जनाएको छ । प्रदेशमा भने एमालेले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव राखेको छ । जसमा प्रधानमन्त्री देउवाले समर्थन जनाएकाे स्राेतकाे दाबी छ ।

प्रतिक्रिया